१. विद्युतीय राहदानी थप सुरक्षित हुन्छः–
विद्युतीय राहदानीको Micro–chip मा व्यक्तिको फोटो, व्यक्तिगत विवरणहरू लगायतका विवरणहरू राखिएको हुन्छ । डिजिटल रूपमा राखिने यस्ता विवरण Encrypt गरी निकै सुरक्षित रूपले राखिएको हुनाले सामान्यतः परिवर्तन गर्न सकिँदैन र कसैले परिवर्तन गरेमा पिन परिवर्तन गरिएका कुराहरू सहजै पत्ता लाग्न सक्छन् ।
२. थप विश्वसनीयः–
राहदानी पुस्तिकाको डाटा पेज र चिपमा समेत व्यक्तिका विवरणहरू राखिने भएकाले यस्तो राहदानी नक्कली बनाउन वा राहदानीमा बनाएको विवरण परिवर्तन गर्न असम्भव प्रायः हुने हुँदा थप विश्वसनीय हुन्छ ।
३. विवरण प्राप्त गर्न सहजः–
विद्युतीय राहदानीको चिपमा Antenna जोडिएको हुन्छ । जसको सहायताले Passport Reader Machine सँग Chip ले सञ्चार गर्न सक्दछ । यसबाटै राहदानीमा रहेका विवरणहरू कम्प्युटरमा ट्रान्सफर हुन्छन् । चिपमा व्यक्तिको फोटो अनिवार्य राखिएको हुन्छ भने औँठाछाप, आँखाको रेटिना जस्ता अन्य जैविक पहिचान समेत राख्ने गरिन्छ । यस्ता विवरणहरू शुरूकै गुणस्तरमा कम्प्युटरमा extract गर्न सकिन्छ जुन MRP मा सम्भव छैन । MRP मा भएको फोटोको गुणस्तर Original सरह हुँदैन ।
४. व्यक्तिको सहज पहिचानः–
अध्यागमन पार गर्दा आँखाले हेरेर राहदानी वाहकको पहिचान गर्दा त्रुटि हुनसक्ने सम्भावना रहन्छ । विद्युतीय राहदानीको हकमा चिपमा भएको फोटो र राहदानी वाहकको फोटो कम्प्युटर प्रविधिबाट भिडाई सही व्यक्ति पहिचान हुने हुँदा त्रुटि हुने सम्भावना नगन्य मात्र रहन्छ । कम्प्युटर प्रविधिबाट भिडाउँदा राहदानी वाहक सही भए, नभएको तुरुन्तै र उच्च शुद्धतासाथ थाहा हुनसक्छ । यसले गर्दा एउटा व्यक्तिको राहदानी अर्को व्यक्तिले प्रयोग गर्ने सम्भावना शून्य प्रायः हुन्छ ।
५. यात्रामा सरलताः–
विभिन्न मुलुकहरूमा इ–गेट जस्ता स्वचालित प्रविधिहरूको प्रयोग गर्न थालिएको छ । अध्यागमनको इ–गेट पार गर्दा कम्प्युटरले राहदानीको चिपमा रहेको तस्विरसँग वाहकको तस्विर भिडाउँछ। दुबै तस्विर मिल्न गएमा स्वचालित रूपमा अध्यागमनको ढोका खोलिन्छ, अन्यथा व्यक्तिलाई रोकिन्छ । यो प्रविधि छिटो छरितो र विश्वासिलो हुनुका साथै खर्चको हिसाबले समेत किफायती हुने देखिएकोले इ–गेटको प्रयोगमा वृद्धि भइरहेको छ। ढिलो चाँडो सबै मुलुकहरू इ–गेट लागू गर्नेतर्फ उन्मुख भइरहेको अवस्थामा विद्युतीय राहदानी जरुरी हुन गएको हो ।
६. बढ्दो प्रयोगः–
विभिन्न मुलुकहरूले विद्युतीय राहदानीलाई बढी प्रथमिकता दिने गरेको पाइन्छ । उदाहरणका लागि अमेरिकामा अध्यागमन विन्दुमा भिसा (On–arrival Visa) लिनका लागि विद्युतीय राहदानी अनिवार्य रहेको छ ।
७. सूचनाको गोपनीयताः–
राहदानीको चिपमा रहेको तथ्याङ्क पढ्नको लागि Digital Certificate तथा Public Key को जरुरत पर्ने भएकाले जो कोहीले पनि यसको विवरण पढ्न सक्दैनन् । यसले गर्दा व्यक्तिगत सूचनालाई गोप्य राख्न सकिन्छ ।राहदानीमा राखिएको चिप Radio Frequency Identification (RFID) Contactless Chip हो । यसलाई पढ्नका लागि Reader मेसिनमा छुवाउनु पर्दैन । यसले RFID पढ्ने मेसिनबाट आफूलाई चाहिने शक्ति (Electrical Energy) प्राप्त गरी Active बन्दछ । त्यसपछि Reading Deviceसँग आपसी सञ्चार हुन्छ र चिपमा भएको विवरण खुल्छ ।
विद्युतीय राहदानी/यात्रा अनुमति पत्र (eMRTD) को बाहिरी पृष्ठ (Cover Page) मा माथि दिइएको सङ्केत चिन्ह राखिएको हुन्छ । यसको आधारमा कुनै विद्युतीय राहदानी/यात्रा अनुमति पत्र विद्युतीय (eMRTD) हो वा होइन भनी पहिचान गर्न सकिन्छ । ICAO को नियमअनुसार विद्युतीय राहदानीमा व्यक्तिको नाम, थर, जन्म मिति, राष्ट्रियता, डकुमेण्ट नम्बर, जारी मिति, म्याद सकिने मिति जस्ता सूचनाका साथै फोटो अनिवार्य रूपमा चिपमा राखिनु पर्दछ । औँठाछाप, आइरिस, डिएनए जस्ता सूचना चिपमा राख्ने नराख्ने विषय ऐच्छिक हुन्छ र सम्बन्धित मुलुकले निर्धारण गरेबमोजिम हुन्छ । यसैले विद्युतीय राहदानीमा राख्ने तथ्याङ्कलाई अनिवार्य र ऐच्छिक गरी छुट्याइएको छ ।
Department of Passports, Tripureshwor, Kathmandu, Nepal
Something went wrong.