१. आवेदनको प्रकार नै गलत छनौट भएमाः
- पहिलो पटक राहदानी लिन, म्याद सकिएको राहदानी नवीकरण गर्न, हराएको/चोरिएको राहदानीको सट्टामा तथा बिग्रेको राहदानीको सट्टामा मध्ये गलत प्रकार छनौट गरेको अवस्थामा आवेदन अस्वीकृत हुन्छ ।
- पहिले यन्त्रवाचक राहदानी लिएकाले नयाँ राहदानीको प्रकार छनौट गरी आवेदन गरेमा आवेदन अस्वीकृत हुन्छ ।
- पहिले हस्तलिखित राहदानी लिएकाको हकमा भने पहिलो पटक राहदानी लिन भन्ने प्रकार छनौट गरी आवेदन फाराम भर्नुपर्छ । यस अवस्थामा म्याद सकिएको राहदानी नवीकरण गर्न भन्ने प्रकार छनौट गरेमा आवेदन अस्वीकृत हुन्छ ।
- यसरी अस्वीकृत भएको अवस्थामा पुनः अनलाइन आवेदन फाराम भर्नुपर्ने हुन्छ ।
२. पहिले लिको यन्त्रवाचक राहदानी (MRP) को विवरण नराखी फाराम भरेमाः
- भुलेर, लुकाएर वा जुनसुकै कारणले पनि पुरानो यन्त्रवाचक राहदानीको विवरण नराखेको पाइएमा आवेदन अस्वीकृत हुन्छ र यस्तो अवस्थामा पुनः अनलाइन फाराम भर्नुपर्ने हुन्छ ।
३. नागरिकता नम्बर गलत भरेको भएमा वा पहिलेको राहदानीमा उल्लेख भएको भन्दा फरक नागरिकता नम्बर भरेको पाइएमाः
- पहिलेको राहदानीमा उल्लेख भएकोभन्दा आवेदन फाराममा फरक नागरिकता नम्बर भएको भए आवेदन अस्वीकृत हुन्छ र यस्तो अवस्थामा फरक नागरिकता नम्बर हुनाको यथेष्ट प्रमाण पेश गर्नुपर्ने हुन्छ ।
४. दोहोरो नागरिकता लिएको पाइएमाः
- यस अवस्थामा नागरिकता जारी गर्ने निकायबाट निर्णय भई दुवै नागरिकता रद्द गरी नयाँ नागरिकता जारी गरिएको लिखित प्रमाणसहितको नागरिकता लिएर आउने वा कारणसहित कुनै एक नागरिकता रद्द भएको प्रमाण पेश गर्नुपर्ने हुन्छ । साथै सो निर्णयको छोटकरी विवरण जारी भएको नयाँ नागरिकता प्रमाण पत्रमा उल्लेख भएको हुनुपर्ने हुन्छ । यसरी कागजात प्राप्त भएको अवस्थामा निवेदकलाई राहदानी जारी गर्न मिल्ने नमिल्ने राहदानी विभागले निर्णय गर्नुपर्ने हुन्छ ।
५. गलत पृष्ठको राहदानी छनौट गरेमाः
- ३४ पृष्ठको राहदानीको दस्तुर बुझाएको छ तर ६६ पृष्ठको राहदानी माग गरेको छ भने वा राहदानीको पृष्ठ अनुसार राहदानी दस्तुर फरक फरक कायम भएको हुनाले दस्तुर फरक परेमा आवेदन फाराम अस्वीकृत हुन्छ ।
६.जन्मस्थान गलत उल्लेख गरेमाः
नेपालमा जन्मेको भए आफू जन्मेको जिल्ला लेख्नुपर्छ । जन्मेको गाउँ लेखेमा अस्वीकृत हुन्छ । विदेशमा जन्मेको भए त्यो देशको नाम लेख्नुपर्छ । जन्मेको सहर लेखेमा पनि अस्वीकृत हुन्छ । सो बाहेक अन्यथा लेखिएको पाइएमा आवेदन अस्वीकृत हुन्छ । त्यसैगरी पहिलेको राहदानी भन्दा फरक जन्म मिति उल्लेख भएको पाइएमा पनि आवेदन फाराम अस्वीकृत हुन्छ ।
७. जरुरी परेमा सम्पर्क गर्ने विवरणः
- परिवारका सदस्य वा नातेदार वा नजिकका व्यक्तिको नाम र ठेगाना लेख्नुपर्छ । आफ्नै नाम र ठेगाना लेख्नु हुँदैन । आफ्नै नाम लेखेमा आवेदन फाराम अस्वीकृत हुन्छ ।
८. पहिलेको राहदानी भन्दा फरक विवरण पेश गरेमाः
- उदाहरणका लागि पहिलेको राहदानीमा “राधा घले गुरुङ्ग लेखिएकोमा राहदानी नवीकरणको फाराममा राधा घले मात्र लेखिएमा” आवेदन फाराम अस्वीकृत हुनसक्छ । यस्तो अवस्थामा विवरण फरक पर्नाको कारण सहितको प्रमाण पेश गर्नुपर्छ । त्यस्तो प्रमाणमा सबन्ध विच्छेदको प्रमाण पत्र, नाम परिवर्तन भएको भए सो को निर्णय सहितको प्रमाण पेश गर्नुपर्छ । जन्म मिति परिवर्तन भएको भए सो को निर्णय सहितको प्रमाण वा SEE, +2 का जन्म मिति खुलेका कागजातहरू अपलोड गरेको हुनुपर्छ ।
९. फोटोको मापदण्ड नमिलेको कारणः
- उदाहरणका लागि खिचिएको फोटोको पृष्ठभूमि सेतो बाहेकको भएको पाइएमा, धेरै गरगहना लगाएर फोटो खिचिएको भएमा, टाउको काटिएको, कान नदेखिएको, क्यामेरामा नहेरी अन्यत्र हेरेको, तलमाथि दायाँबायाँ हेरेको, फोटो बाङ्गो भएको, फोटोमा छाँया परेको, फोटो अँध्यारो भएको, फोटो टल्केको, हात लगायत अन्य अङ्ग देखिएको, हाँसेको, रोएको, मुख खुलेको, दाँत देखिएको, आँखा चिम्लेको, अनुहारमा रङ्ग वा अन्य चीज दलेको आदि भएमा आवेदन फाराम अस्वीकृत हुनसक्छ ।
- कस्तो फोटो उपयुक्त हुने र कस्तो फोटो अस्वीकृत हुनसक्ने भन्ने सम्बन्धमा फोटोको मापदण्ड तल छुट्टै उल्लेख गरिएको छ ।
१०. नाम र थर लेख्दा त्रुटिः
- सुरुको नाम र बीचको नाम एउटै कोठामा लेख्नुपर्छ । थरमा थर मात्र लेख्नुपर्छ । जस्तैः राम बहादुर मगर नाम भएमा– नाममा राम बहादुर र थरमा मगर लेख्नु पर्छ । नाम राम बहादुर घर्ती मगर भएमा– नामको महलमा राम बहादुर र थरको महलमा घर्ती मगर लेख्नुपर्छ । अन्यथा भएमा आवेदन फाराम अस्वीकृत हुन्छ ।
११. नामको स्पेलिङ्ग गलत हुने गरेको:
- आफ्नो नागरिकता, आफूले अध्ययन गरेको प्रमाणपत्र तथा पुरानो राहदानीमा उल्लेख भएको नामको स्पेलिङ्गलाई ख्याल गरेर टाइप गर्नुपर्छ । नाम, थर, जन्म मिति, जन्म स्थान आदि फरक परेको पाइएमा पनि आवेदन फाराम अस्वीकृत हुनसक्छ ।
फाराम भरिसकेपछि आवेदनको प्रकार गलत छनौट गरेको अवस्था बाहेक अन्य विवरणहरूमा सामान्य त्रुटि भएमा रुजू अधिकारी वा लाइभ इनरोलमेन्ट गर्ने अधिकारीले संशोधन गर्न सक्छन् । तर तस्विर खिची फाराम ठीक छ भनेर हस्ताक्षर गरेपछि कुनै विवरण संशोधन हुँदैन । यसपछि कुनै त्रुटि भएको भए पुनः फाराम भरी थप दस्तुर तिर्नुपर्ने हुँदा पहिलो पटक फाराम भरेको अवस्थामा नै विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तो कुराको जानकारी आवेदकलाई रुजू कक्ष र लाइभ ईनरोलमेण्ट सेन्टरमा पनि दिनुपर्ने हुन्छ ।
१२. १६ वर्ष माथिका र नेपालमै आवेदन गर्ने आवेदकहरूको लागि राष्ट्रिय परिचयपत्र वा सोको नम्बर अनिवार्य आवश्यक पर्छ । विदेशबाट आवेदन दिने र १६ वर्ष भन्दा कम उमेरका आवेदकहरूको हकमा अनिवार्य छैन । भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर स्वीकृत भएको छ भने मात्र राहदानी बनाउन सकिन्छ । भौतिक कार्ड नै भएमा अझै सजिलो हुन्छ । राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख नभएको पाइएमा पनि आवेदन फाराम अस्वीकृत हुनसक्छ ।
१३. नाबालकको हकमा नाबालक परिचयपत्रको आधिकारिकता पुष्टि गरेको तस्विर सहितको पत्र आवश्यक पर्छ । यदि नेपालमा नै यन्त्रवाचक राहदानी बनाएको भए यस्तो पत्र आवश्यक पर्दैन ।
१४. भरेको विवरण र पेश गरेका कागजातहरूमा शङ्का लागेमा पनि आवेदन अस्वीकृत हुनसक्छ । त्यस अवस्थामा विभाग वा कार्यालयले निवेदकलाई जिल्ला सिफारिस वा थप प्रमाण पेश गर्न लगाउन सक्नेछ ।
१५. निवेदकसँगको परामर्शमा फाराममा उल्लेख गरिएको पुस्ट्याई भ्यालिडेशन अधिकारीबाट प्रमाणित नगरी फाराम अपलोड गरिएको पाइएमा पनि आवेदन अस्वीकृत हुनसक्छ ।
१६. राहदानीका विवरणहरू अर्को व्यक्तिसँग जुध्न गएमा पनि राहदानीको आवेदन अस्वीकृत हुनसक्छ । त्यस्तो अवस्थामा विवरणहरू छुट्याएपछि मात्र पुनः आवेदन दर्ता गर्नुपर्ने हुन्छ । यसका लागि राहदानी विभागमा सम्पर्क गर्नुपर्ने र राहदानी विभागले पनि सोको जानकारी सम्बन्धित जिल्ला/ईलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगहरूलाई दिनुपर्ने हुन्छ ।
१७. निवेदकको फोटो अर्को व्यक्तिसँग जुधेमा आवेदन अस्वीकृत हुनसक्छ । तर त्यस्तो व्यक्ति जुम्ल्याहा भएको भएमा दुबैको फोटो, ल्याप्चे, सहिछाप र विवरण राखी प्रमाणित प्रति पेश गर्न लगाउन सकिनेछ । सो कागजातका आधारमा निर्णय गर्न सकिने हुन्छ ।
१८. तोकिएका सबै कागजातको सक्कल ल्याउनुपर्छ । थप प्रमाण आवश्यक पर्ने भए त्यस्ता कागजातहरूको पनि सक्कल लिएर आउनुपर्छ । तर तिनका फोटोकपीहरू भने आवश्यक पर्दैन ।
१९. लाइभ इनरोलमेन्ट सेन्टरमा प्रत्यक्ष तस्विर खिचिने हुनाले तस्विर साथमा ल्याउनु पर्दैन ।
२०. विद्युतीय राहदानीमा सानो त्रुटि हुँदा पनि संशोधन गर्न धेरै दुःख हुनसक्छ । थप राजस्व पनि तिर्नुपर्ने हुनसक्छ । तसर्थ फाराम भरिसकेपछि कृपया सबै विवरण दोहोर्याएर पढ्नुहोला र एक एक भिडाएर हेर्नुहोला ।
Department of Passports, Tripureshwor, Kathmandu, Nepal
Something went wrong.