राहदानी (Passport) सम्बन्धि जानकारी

विधुतिय पासपोर्ट (e-Passport) सम्बन्धि अन्य महत्वपूर्ण प्रश्नोत्तरहरु (QNA) 772 views

विधुतिय पासपोर्ट (e-Passport) सम्बन्धि अन्य महत्वपूर्ण प्रश्नोत्तरहरु (QNA)

१. राहदानी सुरक्षित किन राख्ने ? 

राहदानी हराएमा, च्यातिएमा वा कुनै कारणले बिग्रिएर नयाँ राहदानी बनाउनु परेमा नयाँ राहदानी बनाउँदा पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रियाहरू पुरा गर्नुपर्ने र नेपालमा पाँच हजार रुपैयाँ अतिरिक्त शुल्क र नेपाली नियोगहरूमा त्यहाँको लागि तोकिएको शुल्कको दोब्बर शुल्क तिर्नुपर्ने भएकाले आफ्नो राहदानी सुरक्षित राख्नु होला । 

२. एकपटक हराएर अर्को नागरिकता बनाएपछि पुरानो राहदानी भेटिएमा पुन: प्रयोग गर्न पाइन्छ ?

राहदानी हराएको कारण नयाँ राहदानी बनाइसकेपछि हराएको भनिएको राहदानी भेटिएमा जुन कार्यालयबाट राहदानी बनाइएको हो, सोही कार्यालयमा सम्पर्क गरी उक्त राहदानी रद्द गराउनु पर्छ । हराएको राहदानी भेटिए तापनि यसको अभिलेख  INTERPOL लगायत सम्बन्धित निकायहरूमा पठाइने भएकाले त्यस्तो राहदानी लिइ यात्रा गर्न पाइदैन । त्यस्तो राहदानीमा यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन्छ । 

३. राहदानी हराएमा पत्रपत्रिकामा सूचना जारी गर्नुपर्छ ? 

राहदानी हराएमा पत्रपत्रिकामा सूचना जारी गर्नुपर्दैन र प्रहरी प्रतिवेदन पनि पेश गर्नु पर्दैन । 

४. विदेशस्थित नेपाली नियोगहरूबाट हराएको राहदानी बनाउन सकिन्छ ?

राहदानी विभाग वा जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगहरूमा, राहदानी हरायो भनी निवेदन पेश गरेर नयाँ राहदानी लिन सकिन्छ । नयाँ राहदानी जारी भइसकेपछि पुरानो राहदानी फेला परेमा पनि त्यसको विवरण INTERPOL मा गइसकेको हुनाले राहदानी विभागको प्रणालीबाट हटाउन सकिँदैन । 

५. नावालकको राहदानी बनाउन अभिभावक/संरक्षक अनिवार्य उपस्थित हुनुपर्छ ?

नाबालकका लागि निवेदन पेश गर्दा निजका बाबु, आमा वा नाबालक परिचय पत्रमा नाम उल्लेख भएका संरक्षक वा माथवर व्यक्ति अनिवार्य उपस्थित हुनुपर्छ ।

६. राहदानी नवीकरण गर्न आउँदा पुरानो राहदानी पेश गर्नुपर्छ ?

राहदानी नवीकरण गर्न आउँदा पुरानो राहदानीको सक्कल (म्याद सकिएको भएपनि) अनिवार्य रूपमा पेश गर्नुपर्छ । पुरानो राहदानीको सक्कल पेश गर्न नसकेमा नियमानुसारको थप दस्तुर बुझाउनु पर्छ ।

७. त्रुटीयुक्त राहदानी जारि भएमा के हुन्छ ?

राहदानी छपाई हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी जारी हुन्छ । यदि विभाग/कार्यालयको त्रुटिका कारणले फाराममा भरेको विवरण भन्दा राहदानीमा छापिएको विवरण फरक परेर आएको भएमा एक वर्ष भित्र थप दस्तुर नलिइ नयाँ राहदानी जारी गरिनेछ । एक वर्ष नाघेमा थप दस्तुर लाग्नेछ । 

८. राहदानी लिन व्यक्ति स्वयम् आउनुपर्छ ? 

राहदानी लिन व्यक्ति स्वयम् आउनुपर्ने छ । स्वयम् उपस्थित हुन नसक्ने भएमा राहदानी निवेदन बुझाउँदाकै बखत मन्जुरीनामा बनाई सम्बन्धित अधिकृतबाट रुजू गराई नजिकको कुनै आफन्तलाई मन्जुरीनामा दिन पनि सकिन्छ ।

९. राहदानी बनाउन जाँदा जो छिटो गयो उसको पालो पहिले आउने हो ? 

तोकिएको मिति र समयमा मात्र सेवाग्राहीहरूलाई विभाग वा कार्यालयमा प्रवेश दिइन्छ । जस्तै, दिउसो २ बजेको बुकिङ्ग छ तर बिहान १० बजे नै विभागमा पुगेमा अनावश्यक रूपमा चार घण्टा बढी पर्खिनु पर्ने हुन्छ । त्यसैले सबै सेवाग्राहीहरू तोकिएको मिति र समयमा विभाग/कार्यालयमा जान पर्छ ।

१०. ३४ पृष्ठको राहदानी लिने कि ६६ पृष्ठको ? 

३४ पृष्ठ तथा ६६ पृष्ठ दुवै राहदानीको म्याद १० वर्ष हुन्छ । धेरै ठाउँमा छोटो समयमा यात्रा गरिराख्नुपर्नेहरुले ६६ पृष्ठकै राहदानी लिनु राम्रो हुन्छ । किनकि राहदानीको पेज सकिएर म्याद अगावै नवीकरण गर्नु परेमा फेरी शुल्क लाग्छ, राहदानी बनाउने झन्झट उत्तिकै हुन्छ । 

११. पहिले MRP पासपोर्ट लिएकाहरुले उक्त पासपोर्ट नम्वर उल्लेख नगरी फारम भर्दा के हुन्छ ?  

पहिले यन्त्रवाचक (MRP) राहदानी लिएको तर राहदानी नम्बर उल्लेख नगरी राहदानी फाराम भरेको भए पनि राहदानी बन्दैन । त्यसैले विवरण ठीक राखेर मात्र भर्नुहोला, नत्र अनावश्यक दु:ख मात्र हुनेछ ।

Call Us

+97715970330

Location

Department of Passports, Tripureshwor, Kathmandu, Nepal

Related Orientaion