वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी

वैदेशिक रोजगारका नाममा हुने ठगिको तरिका र बच्ने उपायहरु के-के छन् ? (HOW TO) 421 views

वैदेशिक रोजगारका नाममा हुने ठगिको तरिका र बच्ने उपायहरु के-के छन् ? (HOW TO)

नेपालमा वैदेशिक रोजगारमा हुने ठगि ठूलो समस्या हो । यसमा विभिन्न प्रकारका ठगीका तरिकाहरू प्रयोग गरिन्छन्, जसले गर्दा धेरै व्यक्तिहरू असल अवसरको सट्टा ठगिन सक्छन् । ठगी गर्ने तरिकाहरूबारे तल उल्लेख गरिएको छ:

१. झूटा विज्ञापनहरू: 

- ठगहरूले आकर्षक विज्ञापनहरू जारी गर्ने गर्दछन् र आकांक्षीहरुलाई आफ्नो सम्पर्कमा ल्याउने कोसिस गर्दछन् । यस्ता बिज्ञापनहरुमा धेरै तलब, राम्रो सुविधाहरू र सुरक्षित कामको आश्वासन समेत दिइन्छ । तर वास्तवमा, ती विज्ञापनहरू झूटा हुन सक्छन् । वैदेशिक रोजगारमा सहि बिज्ञापन थाहा पाउन नेपाल सरकारले स्वीकृति दिएको (LT Number) सहितको डिमाण्ड आफैले अनलाइनबाट भेरिफाई गरेर मात्र थप प्रक्रियामा जोडिनुपर्छ । वैदेशिक रोजगारको बिज्ञापनमा LT Number, सम्बन्धित रोजगारदाता कम्पनीको नाम, पद/सेवासुविधा र तलब सहित रोजगारमा पठाउने म्यानपावरको नाम र फोन नम्बरहरु समेत स्पष्ट खुलेको हुनुपर्छ ।  

२. अवैध रोजगार एजेन्सीहरू: 

- नेपालका बिभिन्न स्थानमा केही यस्ता एजेन्सीहरू, ट्रेनिङ सेन्टरका नाममा खुलेका अखडाहरु र कन्सल्टेन्सीहरु छन् जसले वैदेशिक रोजगारको नाममा युवाहरु संकलन गर्ने, अग्रिम पैसा लिने साथै वैदेशिक रोजगार अन्तर्गत कामको स्थान, तलब वा अन्य सुविधाहरूको बारेमा झूटा वाचा गर्छन् । यस्ता अखडा मार्फत वैदेशिक रोजगारमा जोडिदा ठगिने सम्भावना धेरै हुन्छ । यस्तै अखडाबाट वैदेशिक रोजगारमा जोडिदा मानव तस्करीको सिकार हुने, भिजिट भिसा, आजाद भिसा, फ्रिलेन्सर भिसा, गोल्डेन भिसा जस्ता भिसाको नाममा फस्ने सम्भावना हुन्छ । वैदेशिक रोजगारमा जाने युवाहरुले कामदार भिसा बाहेक अन्य भिसामा वैदेशिक रोजगारमा जान हुँदैन भन्ने नबुझ्दा यस्ता अवैध व्यक्ति तथा अखडाहरुले समस्यामा पार्द्छन् ।  

३. फेक भिसा: 

- वैदेशिक रोजगारमा जोडिन अनिवार्य भिसा आवश्यक हुन्छ । वैदेशिक रोजगारमा जान सुरक्षित भिसा ब हानेको कामदार भिसा (Working Visa) मात्र सुरक्षित भिसा हो । अबैध दलालहरुले भिसा प्रदान गर्ने बहानामा फर्जी भिसा समेत बनाइ दिन्छन् । जसका कारण विदेशमा पुग्नासाथ समस्यामा पर्न सक्छ । फेक भिसा भएमा नेपालकै वा सम्बन्धित देशको एअरपोर्टबाटै फिर्ता हुनुपर्छ । कामदार भिसाको अलावा अन्य प्रकृतिको भिसामा विदेश गएर काम गर्ने अनुमति नहुन सक्छ ।  यस्तो प्रकृतिको भिसामा गएर काम गरेको भेटिए सिधै कारवाही सहित नेपाल डिपोर्ट हुनेसम्मको कारवाही हुन्छ ।

४. अग्रिम भुक्तानि

- नेपाली युवाहरुसँग वैदेशिक रोजगारमा पठाईदिने बहानामा अग्रिम अशुली लिइन्छ । तर रकम दिएपछि लामो समयसम्म झुलाईदिने, काम के-के भैरहेको छ समय-समयमा जानकारी नदिने र धेरै समय बितेपछि अग्रिम अशुली गरेको रकमबाट उल्टै केहि रकम काटेर फिर्ता दिने वा पैसा दिन झुलाउने प्रवृति मौलाएका छन् । कतिपयले त पैसा दिँदा नगद कारोबार गरेको कारणले प्रमाण अभावको कारण पैसा नै फिर्ता नपाएको गुनाशो गर्ने गरेका छन् । यस्ता गिरोहलाई निरुत्साहित गर्न सरकारी निकाय जिम्मेवार बनेको छैन ।  

वैदेशिक रोजगारको नाममा हुने ठगीबाट बच्नका लागि, निम्नलिखित सावधानीहरू अपनाउन सकिन्छ:  

- विश्वसनीय म्यानपावर एजेन्सीको चयन गर्नुहोस् । नेपाल सरकारले वैदेशिक रोजगारमा पठाउन मान्यता दिएको इजजातपत्र प्राप्त म्यानपावर एजेन्सी मात्र छनौट गर्नुहोस् । जुनकुनै एजेन्सीको नाम अनुसार इजजात पाए-नपाएको आफैले अनलाईनबाट VERIFY गर्न सकिन्छ । यसको लागि यो लिंकबाट चेक गर्न सकिन्छ । https://dofe.gov.np/Recruting-Agences.aspx 

- वैदेशिक रोजगारमा पठाइदिने भन्दै जोडिएका व्यक्तिहरुबारे भेरिफाई गर्नुहोस् । त्यस्ता व्यक्तिहरुको सामाजिक प्रोफाइल चेक गर्नुहोस् ।  पहिले वैदेशिक रोजगारमा पठाएको नपठाएको चेक गर्नुहोस् । सम्बन्धित व्यक्तिको फोटो, परिचयपत्रको फोटोकपि सुरक्षित गर्नुहोस् । साथै आर्थिक कारोबार गर्दा अनिवार्य बैंक भौचर भरेर मात्र कारोबार गर्नुहोस् । भौचर भर्दा अनिवार्य 'वैदेशिक रोजगार' भन्ने प्रयोजन खुलाउनुहोस् । भविष्यमा समस्या पर्दा न्याय पाउने आधारनै त्यहि हुनेछ ।  

Call Us

+977-14512988

Location

Baluwatar-4, Kathmandu, Nepal

Related Orientaion